नबिल इन्भेष्टमेन्ट बैकिङ्गद्धारा छुट्टै सूचक ‘एनआई ३१’ बनाउने तयारी

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजताका लागि नेप्सेमा सूचीकृत ३१ वटा कम्पनीहरुको छुट्टै सूचक ‘एनआई ३१’ तयार गर्ने भएको छ । जसका लागि नेप्सेमा सूचीकरण भई कारोबार भइरहेको कम्पनीहरुमध्ये विभिन्न आधारभूत सूचकको आधारमा कम्पनीले छनौट गर्नेछ ।
कम्पनीले लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक वर्ग समेतलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि नेप्सेमा सूचीकृत ३१ कम्पनीहरुको अन्तिम मूल्यको आधारमा उक्त सूचक तयार गर्न लागेको हो ।
छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोवारको आधारमा तयार गरिने एनआई ३१ दैनिक रुपमा कम्पनीको आधिकारीक वेवसाईट तथा सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यस्तो सेवाबाट आम लगानीकर्ताहरुलाई उल्लेखित कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ ।
नेपाल स्टक एक्चेन्जबाट तयार हुने नेप्से ईन्डेक्स भारित औषत पूँजीगत मुल्यका आधारमा तयार हुन्छ भने एनआई ३१ नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिकरुपमा कारोवार भैरहेका हरेक सेक्टरका कम्पनीहरुमध्यबाट विविधीकरणका आधारमा विभिन्न ३१ वटा कम्पनी छनौट गरी अन्तिम मुल्यको आधारमा तयार हुने कम्पनीले जनाएको छ ।
यसरी एनआई ३१ ले लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, नेप्से इन्डेक्सको भारित पूँजीगत औषतका कमि कमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनीको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजी बजारको अध्ययन गर्न समेत एनआई ३१ ले सहयोग पु¥याउने विश्वास कम्पनीले लिएको छ ।













