घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड( (सेबोन)समक्ष अनुमति माग्दै निवेदन पेश गरेको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि गरी दुई चरणमा आइपीओ जारी गर्नेछ । कम्पनीले स्थानीयका लागि ४०० रुपैयाँ र सर्वसाधारणका लागि ४३५ रुपैयाँका दरले आइपीओ निष्काशन गर्न गत साउन ९ गते बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आइपीओ जारी गर्न स्वीकृति मागेको हो । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता स्थानीयका लागि र बाँकी रहेको ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारण का लागि आइपीअो जारी गर्नेछ ।
कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।














