खराब कर्जा उठाएसँगै महिला लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी १०० रुपैयाँ नाघ्यो

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड खुद नाफा आर्जन गरेको छ ।लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको हो ।
गत आवको असार मसान्तसम्म कमाएको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.४३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म संस्थाको सञ्चालन मुनाफा घटेपनि उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । अघिल्लो आर्थिक वर्षमा ४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले, गत आर्थिक वर्षमा १५ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाएको छ। जसले गर्दा खुद नाफा बढ्न टेवा पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.९० प्रतिशत बढेर २७ करोठ ८७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १८.७६ प्रतिशतले घटेर ८ करोड ६१ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ७८ पैसा बढेर १०१ रुपैयाँ ७६ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.७९ गुणा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.५० प्रतिशत बृद्धि भँई १४ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ३५ प्रतिशतले बृद्धि भई कोषमा २९ करोड ८३ लाख रुपैयाँ संचित रहेको छ ।
यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।













