गणपति लघुवित्तको प्रतिशेयर आम्दानी ह्वात्तै घट्यो, नाफा कति ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.१७ प्रतिशत घटेर १२ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ७०.२७ प्रतिशतले घटेर १ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्षमा १ करोड ७९ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले, गत आर्थिक वर्षमा १ करोड ५१ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ २ पैसा घटेर १२ रुपैयाँ २८ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.५७ गुणा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १८.९९ प्रतिशत बढेर १५ करोड १५ लाख रुपैयाँ पुगेको छ भने रिभर्जको आकार समेत १३.६५ प्रतिशतले घटेर कोषमा ४ करोड ७८ लाख रुपैयाँ मात्रै संचित रहेको छ ।
यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ सापटी लिई ५७ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।













