दुई साताभित्र बैंकिङ्ग प्रणालीबाट कसरी बाहिरियो कुल १ खर्ब ३ अर्ब रुपैयाँ ?

काठमाडौं । चालु आर्थिक वर्षको दुई साताभित्र बैंकिङ्ग प्रणालीबाट कुल १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । चालु आर्थिक वर्ष २०७९।८० सुरु भएको एक सातामै बैकिङ्ग प्रणालीबाट ६४ करोड रुपैयाँ निक्षेप बाहिरिएको थियो ।
गत असार मसान्तसम्म बैंकिङ प्रणालीमा ४९ खर्ब ४७ अर्ब रुपैयाँ बढी निक्षेप मौज्दात रहेको थियो । जुन साउनको १५ गतेसम्म आइपुग्दा १ खर्ब ३ अर्ब ९ करोडले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकको पछिल्लो अपडेटअनुसार साउन १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५० खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । केन्द्रीय बैंकका अनुसार आयातको लागि असार मसान्तसम्म संचित गरिएर राखिएको कर्जा भुक्तान हुँदा चालु आवको दोस्रो सातासम्म १ खर्बमाथिको निक्षेप बाहिरिएको हो । साउन १५ गतेसम्म बैंकिङ प्रणालीमा १ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँ तरलता मौज्दात थियो ।
चालु आवको १५ दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कर्जा १४ अर्ब रुपैयाँले घटेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४६ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन साउन १५ गतेसम्म आइपुग्दा ४६ खर्ब ८६ अर्ब रुपैयाँमा झरेको हो । बैंकिङ्ग प्रणालीमा निक्षेप घटेसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसिया) ८७.७२ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न निर्देशन दिएसँगैं बैंकहरुले कृत्तिम निक्षेप देखाई सीडी रेसियो ९० प्रतिशतभन्दा तल पुर्याई कायम गरेका थिए । चालु आव सुरु भएलगत्तै बैकिङ्ग प्रणालीमा सीडी रेसियो पुनः बढ्ने क्रम जारी रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्षको अन्तमा सबै हिसाबकिताब क्लोज हुने हुँदा बैङ्कमा डिपोजिट बढेको हो । तर, अर्को आर्थिक वर्ष सुरु भएसँगै पुनः डिपोजिटरहरुले पैसा झिक्दा वा ट्रान्जिट गर्दा घट्न पुगेको हो । यसलाई स्वाभाविक मान्नुपर्छ’ एक बैंंकका सिईओले बताए ।
असार मसान्तमा डिपोजिट बढ्नु र साउनको पहिलो हप्ता फेरि उसै गरी घट्नु स्वाभाविक नै रहेको बताउँछन् । तर, यस पटक अलिक धेरै नै घटेकोमा भने विभिन्न कारणहरू हुनसक्ने उनको भनाइ छ । ‘गत वर्षहरूमा पनि आर्थिक वर्षको अन्तमा ह्वातै डिपोजिट बढ्ने र नयाँ आर्थिक वर्षको सुरुवातमा घट्ने गरेकै हो । यस पटक पनि यस्तै भएको छ । तर, यति ठूलो अमाउन्ट एकै पटक घटेकोमा भने केही कारणहरू अवश्य छन् ।’चालु आवको साउन १५ गतेसम्म वाणिज्यहरुले कुल ४४ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरबाटै १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो ।
बैक तथा वित्तीय संस्थाहरुबाट लगानी योग्य रकम बाहिरिन थालेपछि बैंकहरुले अन्तर बैंक सापटी कारोबार बढाउँदा ब्याजदर समेत ८.५० प्रतिशत पुगेको छ । जुन राष्ट्र बैंकले तोकेको ब्याजदर सीमाभन्दा बढी हो । राष्ट्र बैंकले करिडोरमा माथिल्लो सीमा ८.५७ प्रतिशत तोकिएको छ ।













