एनएमबि बैंकको खुद नाफा साढे ३ अर्बमाथि, लाभांश क्षमता २० प्रतिशत

काडमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।
सो अवधिसम्ममा बैंकले ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत बढेर ६ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३६.४३ प्रतिशतले बढेर ५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५५ पैसा बढेर २० रुपैयाँ १५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२।९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेर १८ अर्ब ३६करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १६.०६ प्रतिशत बढेर ८ अर्ब ८४ करोड रुपैयाँ संचित रहेको छ । त्यसैगरी, बैंकको निक्षेप १२.३७ प्रतिशत र कर्जा १६.४१ प्रतिशत बढेको छ।













