मुक्तिनाथ विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी बढ्यो, वितरणयोग्य मुनाफा साढे ८१ करोड

१९ श्रावण २०७९, बिहीबार ०७:२६

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो । यस अवधिसम्म बैंकको नाफा १८.४७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत बढेर ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १९.५० प्रतिशत बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेर ५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २१.०१ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ संचित रहेको छ । त्यसैगरी, बैंकको निक्षेप २०.४३ प्रतिशत र कर्जा १९.१८ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*