सबैभन्दा धेरै मुनाफा कमाउने संस्था बन्यो सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमईलाई उछिन्दै पाँच अर्ब २१ करोड मुनाफा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो बैंकको खुद नाफामा सुधार देखिएको छ ।
सरकारी लगानीको बैंक सम्भवतः धेरै वर्षपछि पहिलो पटक सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंक बन्न सफल भएको हो । रोचक कुरा के छ भने दोब्बर भन्दा बढि चुक्ता पुँजि भएको ग्लोबल आइएमई बैंकको खुद नाफालाई समेत उछिनेर बैंक नम्वर १ बन्न सफल भएको छ ।
गत आवको चौथो त्रैमाससम्म बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेर ९ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३७.६७ प्रतिशतले बढेर ७ अर्ब १ करोड पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ ।
नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेर १४ अर्ब ९४ करोड पुगेको छ भने जगेडा कोषमा १८ अर्ब ५४ करोड रुपैयाँ संचित रहेको छ ।
यस अवधिसम्म बैंकको निक्षेप १.६९ प्रतिशतले घटेको छ भने कर्जा ऋण प्रवाह १९.२२ २ प्रतिशतले बढेको छ ।













