खराब कर्जा उठाएसँगै आँधिखोला लघुवित्तको नाफामा सुधार, इपीएस कति ?

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफामा सामान्य सुधार देखिएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.०१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म लघुवित्तको सञ्चालन मुनाफा घटेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा धेरै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत बढेर ८ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.७६ प्रतिशत घटेर ६ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्षमा २० लाख ६६ हजार रुपैयाँ मात्रै उठाएकोमा लुघवित्तले यस अवधिसम्म १ करोड १६ लाख १८ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको कारण नाफामा सुधार देखिएको हो ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ५२ पैसा बढेर ४५ रुपैयाँ ५८ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २० पैसा रहेको छ ।
यस अवधिसम्म लघुवित्तको चुक्तापुँजी १० करोड रुपैयाँ चुक्ता पूँजी रहेकोकोमा जगेडा कोषमा १० करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ७७ करोड ७१ लाख रुपैयाँ सापटी लिई ४ अर्ब ६९ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।













