नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिन नसक्ने अवस्थामा, निक्षेप चुहिएर सकिएपछि थप तनाव

२३ श्रावण २०७९, सोमबार १७:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले कायम गरेको सीडी रेसियोको सीमाअनुसार नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिनै नसक्ने अवस्थामा देखिएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार ग्लोबल आइएमर्ई बैंक र नबिल बैंकको सीडी रेसियो ९० प्रतिशत नजिक रहेकोमा साउन यता ह्वात्तै बढेका कारण कर्जा दिनै नसक्ने अवस्थामा पुगेका हुन् ।

गत असार मसान्तसम्म नबिल बैंकको सीडी रेसियो ८९.७९ प्रतिशत छ भने ग्लोबल आईएमई बैंकको सीडी रेसियो ८९.२१ प्रतिशत छ । कृषि विकास बैंकको सीडी रेसियो ८९.१७ प्रतिशत र मेगा बैंकको सीडी रेसियो ८९.०५ प्रतिशत छ ।औसतभन्दा बढी सीडी रेसियो हुनेमा १३ वटा बैंक छन् भने औसतभन्दा कम सीडी रेसियो हुनेमा १३ वटै बैंक छन् ।

गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार सबैभन्दा सहज अवस्थामा प्रभु बैंकको रहेको छ । राष्ट्र बैंकले तोकेको सीडी रेसियोको सीमा ९० प्रतिशत हो, प्रभु बैंकको सीडी रेसियो ७८।३५ प्रतिशत भएकाले बैंकसँग ११.६५ प्रतिशत कर्जायोग्य रकम छ । तर, सो बैंकले लाभांश वितरण गर्न नपाउने डरले पुँजि लगानी अनुपात मिलाउन कर्जा घटाएर लगेर लाभांश वितरण गर्ने मार्ग खोज्दैछ । बैंकले यस वर्ष पनि मुनाफा वितरण गर्न नपाउने भएकोले कर्जा घटाउन लगानी लगभग बन्द गरेको अवस्था छ ।

त्यसैगरी कुमारी बैंकको सीडी रेसियो ८५.१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ८५.१४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८५.१५ प्रतिशत र सिटिजन्स बैंकको सीडी रेसियो ८५.२० प्रतिशत छ ।

गत असार मसान्तसम्ममा घटेको सिडी रेसियोमा अहिले निकै बृद्धि भइसकेको छ । साउनमा मात्रै बैंकहरुबाट करिब एक खर्ब रुपैयाँ निक्षेप चुहिएर सकिएको छ । सो रकम कहाँ गयो कसैले बताउन सकेका छैनन् भने केन्द्रीय बैंकले समेत अनुसन्धान गरेको छैन ।

केन्द्रीय बैंकका अनुसार गत शुक्रबारसम्म बैंकहरुको सीडी रेसियो औसतमा ८७.८५ प्रतिशत छ । बैंकहरुले कुल ५० खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४६ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुको कर्जा दिने क्षमता सीडी रेसियोमा मात्रै भर पर्दैन । अन्य सूचकको पनि भूमिका रहेको हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*