बैंकहरुबाट एकैदिन बाहिरियो १० अर्ब निक्षेप, सीडी रेसियो बढ्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन १० अर्ब निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन २४ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकदिनमा १० अर्ब घट्न पुगेको हो ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप साउन २४ गतेसम्म ५० खर्ब २७ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन अर्थात् साउन २३ गतेसम्म बैंकहरुको निक्षेप ५० खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ । दिनानुदिन बैंकहरुमा अर्बौ अर्ब निक्षेप घट्दै गइरहेको छ ।
जसमध्ये वाणिज्य बैंकको मात्रै १० अर्ब निक्षेप बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सो अवधिसम्म कमर्सियल बैंकहरुको निक्षेप ४४ खर्ब २८ अर्बरुपैयामाँ सीमित भएको छ । अघिल्लो दिन बैंकहरुकाको निक्षेप ४४ खर्ब ३८ अर्ब रुपैयाँ रहेको थियो ।
निक्षेप घटेसँगै बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) समेत बढ्न पुगेको छ । साउन २३ गतेसम्म ८७.८६ प्रतिशतमा कायम रहेको बैंकहरुको सीडी रेसियो एकैदिनमा बढेर साउन २४ गतेसम्म ८८.५ प्रतिशत कायम भएको छ । यो अवस्थाले पनि बैंकहरु अब कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगिसकेको देखाएको छ । संचालनमा रहेका २६ वाणिज्य बैंकमध्ये ४।५ वटा बैंकबाहेकका सबै बैंकहरुको सीडी रेसियो ह्वात्तै बढ्न पुगेको छ । जसमा प्रभु बैंक, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन, राष्ट्रिय वाणिज्य बैंकहरुको सीडी रेसियो हालसम्म जोखिम अवस्थामा नरहेको रिर्पोटमा देखिएको छ ।
साथै यस अवधिसम्म बैंकहरुको कुल ऋण प्रवाह ४१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन साउन २३ गतेसम्म बैंकहरुको कुल ऋण प्रवाह ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो ।














