खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले यहि भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आइपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।













