नागरिक लगानी कोषको मुनाफा १४ प्रतिशतले बढ्यो, अधिकांश सुचक सकारात्मक

काठमाडौं । नागरिक लगानी कोषले असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त प्रकाशित विवरण अनुसार कम्पनीले मुनाफा १४.२८ प्रतिशत वृद्धि गर्न सफल भएको छ ।
कम्पनीको गत आर्थिक वर्षको असार मसान्तसम्ममा कोषले ८८ करोड ७८ लाख ०६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ७७ करोड ६८ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा कोषको ब्याज आम्दानीमा पनि ३७.७९ प्रतिशतले वृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कोषले १६ करोड ३३ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समिक्षा अवधिमा त्यो बढेर २२ करोड ५० लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
कोषको खुद ब्याज आम्दानीसँगै सेवा शुल्क र कमिसन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा १ अर्ब १४ करोड ३५ लाख ८६ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा वृद्धि भएर १ अर्ब २६ करोड २ लाख २७ हजार रुपैयाँ पुगेको छ ।













