भर्खरै आइपीओ निष्काशन गरेको अभियान लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले एक करोड १० लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३७.४० प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले एक करोड ७६ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा घट्न पुगेको छ । यसकारण पनि लघुवित्तको नाफा घट्न पुगेको हो । यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी १७.१९ प्रतिशतले बढेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २५.३५ प्रतिशतले घटेर एक करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।
सो अवधिसम्म कम्पनीको चुक्तापुँजी १५ करोड २५ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार १३४.४३ प्रतिशतले बढेर कोषमा एक करोड ९१ लाख रुपैयाँ संचित रहेको छ । अघिल्लो आवको यसै अवधिसम्म संस्थाको जगेडा कोषमा जम्मा ८१ लाख ६७ हजार रुपैइाँ मात्रै संचित रहेको थियो । कोषको आकार बढाएसँगै कम्पनीको नाफा घट्न पुगेको हो ।
साथै सो अवधिसम्म लघुवित्तको खराब कर्जा (एनपीएल) ०.५४ प्रतिशतबाट बढेर २.६० प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड्स ११.१९ प्रतिशत, सिडी रेसियो ६६६.१९ प्रतिशत रहेको छ ।
साथै कम्पनीको सापटी एक अर्ब ६९ करोड ८ लाख रुपैयाँ, निक्षेप संकलन ३१ करोड १५ लाख रुपैयाँ र कर्जा लगानी २ अर्ब ७ करोड ५६ लाख रुपैयाँ रहेको छ ।













