ग्रीनहिल–सेन्चुुरी बैंकद्धारा ऋणी घोटाला काण्डमा नयाँ तथ्य

काठमाडौं । ग्र्रिनहिल सिटी हाईजिङ कम्पनीले सेन्चुरी बैंकसँग मिलेर घर खरिदकर्र्ता ग्राहक शान्ता शर्मालाई ठगी गरेको विषयमा थप नयाँ तथ्य फेला परेको छ । त्रिपक्षिय सम्झौता अनुसार घर खरिद गरेकी शान्ता शर्माले बैंकबाट प्रवाह भएको ऋण नै बीचबाट बेपत्ता भएका तथा सेन्चुरी बैंक–ग्रिन हिल सिटी र शान्ता शर्माबीचमा भएको भनिएको त्रिपक्षित सम्झौता नै नक्कली जस्तो देखिएपछि मुद्दा अब नयाँ मोडमा जाने देखिएको हो ।
मुद्दाका पक्ष तथा प्रतिवादीहरुले अदालत समक्ष पेश गरेको लिखित जवाफको आधारमा सेन्चुरी बैंकबाट प्रवाह भएको भनिएको ऋण बापतको एक करोड रुपैयाँ ग्रिनहिल सिटीले नपाएको उल्लेख हुनु, त्रिपक्षिय सम्झौताका दुई फरक फरक प्रति इजलाशमा पेश हुनु जस्ता घटनाले यसअघि १५ पटक पेशीमा चढिसकेको पाटन उच्च अदालतको मुद्दा नयाँ मोडमा प्रवेश गर्ने देखिएको हो ।
छानविनको माग दावी गर्दै उजुरी दिएका पीडित शान्ता शर्मा र उक्त मुद्दामा आफै बहस गर्दै आएका समाजिक अभियान्ता ई. दीपेन्द्र कँडेलले अदालतमा विचाराधिन मुद्दामा अहिले कुनै प्रतिक्रिया नदिने बताए । उता, सेन्चुरी बैंकले पनि अदालतबाट हुने फैसलापछि मात्रै थप निर्णय गर्ने जनाएको छ ।
यसअघि बीमापोष्टले पटक पटक सो ठगी काण्डका विभिन्न पक्षहरुको समाचार प्रकाशन गरिसकेको छ । पछिल्लो पटक प्राप्त थप नयाँ तथ्यहरुले सो ठगी प्रकरणमा ग्रिनहिल सिटी र सेन्चुरी बैंकले अदालत र इजलाशलाई ढाँटेको, शंकास्पद कागजात पेश गरी मुद्दालाई प्रभावित बनाउने प्रयास हुनुले उक्त मुद्दा थप जटिलतातर्फ मोडिने देखिएको छ ।

सो ठगी काण्डको बैंकिङ अनुसार छानविन प्रक्रिया अघि बढेमा सेन्चुरी बैंंकका तत्कालिन सिईओ तुलसी गौतम, अफर लेटरमा हस्ताक्षर तत्कालिन पुतलीसडक शाखा प्रमुख दीपेन्द्र बिष्ट र अर्की कर्मचारी मनिषा शाक्य समेत फस्ने देखिएको छ । त्यस्तै ग्रिनहिल सिटीका सम्बन्धित कर्मचारीहरु पनि कानुनी दायरामा आउने देखिएको छ । पाटन उच्च अदालतमा चलिरहेको मुद्दामा ग्रिनहिल सिटी र सेन्चुरी बैंकले पेश गरेको त्रिपक्षिय सम्झौतामा फरक फरक हस्ताक्षर, फरक फरक पद र हस्ताक्षर र ल्याप्चे समेत फरक फरक रहेको फेला परेको छ । साथै एउटा प्रतिमा सम्झौता भएको मिति समेत उल्लेख नहुनुले त्रिपक्षिय सम्झौतामाथि नै विश्वास गर्न सकिने आधार कमजोर बन्न पुगेका छन् ।
पीडित शान्ता शर्माले एक करोड रुपैयाँको सावा ब्याज नियमित तिरेर लडिरहेको मुद्दामा ऋणीको नाममा डिसपर्स गरिएको एक करोड रुपैयाँ ऋणी शान्ता शर्माको खातामा जम्मा नगरी घर दिने सम्झौता गरेको ग्रिनहिल सिटीको नाममा पठाइएको उल्लेख छ । तर, ग्रिनहिल सिटीले आफूूले बैंकबाट पाएको रकमबारे कुनै उल्लेख गरेको छैन । शान्ता शर्माबाट प्राप्त एक करोड तीन लाख रुपैयाँ मात्रै पाएको उल्लेख छ । साथै ग्रिनहिल सिटीले गत वर्ष घर खरिदकर्ता शान्ता शर्मालाई लिखित पत्र पठाउँदै बैंकबाट प्राप्त रकमबारे उल्लेख गरिएको छैन ।

सेन्चुरी बैंकले एक करोड रुपैयाँ ऋणी शान्ता शर्माको नाममा डिस्पर्स गरेर घर दिने ग्रिनहिल सिटीको नाममा पठाएको दावी गरिएको अवस्था र ग्रिनहिल सिटीले आफूले पाएको रकमबारे केही उल्लेख गरेको छ । बिबन्धनको सिद्धान्त अनुसार उक्त लिखित बयानलाई अब सच्याउन पाइदैन । त्यसैले एक करोड रुपैयाँ ऋण प्रवाह भएको सम्बन्धमा बैंक वा ग्रिनहिल सिटी कसले ढाँटेको हो ? न्यायिक निरुपण गर्ने विषय बनेको छ । बैंकबाट प्रवाह भएको कर्जा ऋणको नाममा डिस्पर्स गरी बैंकले अर्को व्यक्ति कसलाई दियो ? सत्यता पत्ता लगाउनै पर्ने अवस्था आएको छ ।

घर किन्न भनेर आफूसँग भएको एक करोड तीन लाख रुपैयाँ बुझाई अपुग रकम बैंकबाट एक करोड ३१ लाख ऋण लिएकी शान्ता शर्मा अहिले न घर पाउने, न रकम फिर्ता पाउने अवस्थामा पुगेकी छिन् । बैंकले शान्ता शर्माबाट विगत तीन वर्षदेखि मासिक रुपमा एक करोड रुपैयाँको सावा ब्याज असुल गरिरहेको अवस्था बैंकले ऋण रकम हस्तान्तरण गरेको भनिएको तेस्रो पक्षले रकम नै नपाएको भन्दै लिखित जवाफ इजलाशमा बुझाइसकेको अवस्थामा सेन्चुरी बैंकमाथि बैंकिङ कसुरमा छानविन हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
बैंकमा मुद्दा चलेकोले प्रहरीले छानविन नगर्ने, मुद्दाका प्रतिवादीहरुले इजलाशमा पेशी सारिरहने अनि चार वर्ष पहिले घर किनेकी शान्ता शर्माले घर वा आफूले बुझाएको रकम मध्ये के फिर्ता पाउने भन्ने निक्र्यौल नै नगरी मुुद्दा नै खारेज गर्नुपर्ने विपक्षका कानुन व्यवसायीहरुले जिरह गरिरहेका छन् ।













