प्रभु बैंकको १००० जना कर्मचारी बढुवामा विभेद, इमान्दार कर्मचारी निराश बन्दै

काठमाडौं । क बर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था प्रभु बैंकमा गत महिना १००० जना कर्मचारीको बढुवा गर्दा सिईओ तथा उच्च पदस्थ व्यक्तिहरुले मनोमानी तरिकाले गरिएको भन्दै कर्मचारीहरुमा असन्तुष्टी चुलिँदै गएको छ ।
एक हजार कर्मचारी बढुवाप्रति सहमत हुनै नसक्ने अवस्था रहेको पीडित कर्मचारीहरुले गुनासो गरेका छन् । केही कर्मचारीहरुले व्यवस्थापन समक्ष विभेदपूर्ण बढुवा बदर गरी वैज्ञानिक मापदण्ड बनाएर बढुवा गर्न माग गरेपनि कुनै सुनुवाई नभएको गुनासो बीमापोष्ट समक्ष गर्न आएका छन् ।
१००० जना कर्मचारीको बढुवा सिईओ अशोक शेरचनले आफू निकट, आफूलाई मन परेका, नातागोताका मान्छे तथा राजनीतिक पावरका कर्मचारीहरुको अनैतिक तरिकाले बढुवा गरेको गुनासो गरेका छन् । प्रभुु बैंकमा केही समयदेखि व्यवस्थापन कमजोर बन्दै गइरहेको छ । १००० जना कर्मचारीको बढुवा गर्दा केही कर्मचारी जागिरमा भर्ना भएको वर्ष दिन समेत नपुगेकाहरु पनि बढुवामा परेका छन् भने आठ वर्षदेखि काम गर्दै आएका कर्मचारीहरु समेत बढुवामा नपरेको गुुनासो पीडित कर्मचारीहरुको छ ।
बैंकभित्र कर्मचारी बढुवा गर्दा कुनै मापदण्ड लागू नभएका कारण कर्मचारीहरु पीडित हुने गरेको गुनासो लामो समयदेखि काम गर्दै आएका मेहनती कर्मचारीहरुको भोगाई छ । बैंकले परफमेन्सको भन्दा नातागोता हेरेर, पावर र पहुँच हेरेर बढुवा गर्दा इमान्दारहरु निराश बन्दै गएका छन् ।
प्रभु बैंकमा गत महिना गरिएको बढुवा काण्डपछि बैंकभित्र हलचल मात्रै मच्चिएको छैन केही इमान्दार कर्मचारीहरु अन्यत्र जागिर खोज्न थालिसकेका छन् । आकर्षक मानिएको बैंकिङ क्षेत्रमा बढुवामा हुने मनपरि, कमजोर सुशासन तथा राति ८–नौ बजे सम्म काम गर्नुपर्ने कठिन अवस्था छ ।
‘राति रातिसम्म बैंकमा बसेर काम गर्छौ, पाँच वर्षभन्दा लामो समयदेखि बढुवाको प्रतिक्षामा थियौं, हामीलाई वास्ता गरिएन, अहिले पाँच महिना नपुगेकाहरुको धमाधम बढुवा गरिएको छ,’ एक कर्मचारीले गुनासो गरे ।
कर्मचारी बढुवा सम्बन्धी निर्णय गरेर विदेश गएका सिईओ अशोक शेरचन स्वदेश फर्केका छैनन् । कर्मचारीहरुले सिईओ शेरचनले पुरुष कर्मचारीहरुलाई बढुवामा विभेद गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।













