खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौैं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लघुवित्तको उक्त आईपिओमा आज (भदौ १२ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गरेको हो ।
यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो ।
लघुवित्तले निष्काशन गरेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन ।
लघुवित्तको यस आइपीओमा आज कार्यालय अवधि भित्रमा आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।













