हिमालयन बैंकको साढे १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज (भदौ १५ गते)देखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अबै ५० करोड रुपैयाँ बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा भदौ १९ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २९ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।













