लगानीकर्ताको भविष्य झनै संकटमा !, अघि बढ्यो छ अर्बको घोटाला काण्ड

नबराज न्यौपाने
२ आश्विन २०७९, आईतवार ०९:२२

समाचार विश्लेषण

काठमाडौं । हाल नेप्सेमा सूचिकृत कम्पनीहरुको कूल बजार पुँजि करण देशको कूल ग्राहस्थ उत्पादन नजिकै पुगिसकेको छ । गत वर्ष तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको पालामा बेलुन जसरी फुलाउँला देशको कूल ग्राहस्थ उत्पादन भन्दा पुँजि बजार ठूलो हुन पुगेको थियो । केही बजारमा निकै सुस्ताएको कारण केही तल झरेको छ ।

बजार पुँजिकरण देशको कूल ग्राहस्थ उत्पादनभन्दामाथि जानु शेयर बजारको लागि घातक मानिन्छ । तर, नेपाल धितोपत्र बोर्डले छ अर्ब रुपैयाँ राजनीतिक दलहरुलाई चन्दा उठाईदिनको लागि नयाँ स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स खुलाएको छ । भ्रष्ट चिन्तन र मानसिकता, लगानीकर्ताहरुको भविष्यबारे वेपरवाह सेबोनका अध्यक्ष रमेश हमालको नेतृत्वमा अघि बढाइएको एक्सचेन्ज लाइसेन्सले नेपालको राष्ट्रिय अर्थतन्त्रमा कुनै पनि कुरा थप गर्ने छैन, बरु थप बर्वादी र श्रीलंकाको मोडलमा देशलाई पुर्याउनेछ ।

यतिबेला सिंगो शेयर बजार स्तब्ध अवस्थामा छ । यसबाट मुक्ति पाउन लगानीकर्ताहरुले नेप्सेभित्रको भद्रगोल, सरकारी कार्यशैलीको विरोध गरिरहेका छन् । जसरी नेपाली जनताले राजाको तानाशाही शासन व्यवस्थाका विरुद्धमा विद्रोह गर्दा विदेशीको इसारामा परेर दलहरुले झुक्याएर तानाशाही शासन व्यवस्थाको अन्त्यसँगै संघीयता घुसाए अहिले त्यसैगरी, लगानीकर्ताहरुले ब्रोकर कम्पनी र नेप्सेको प्रताडनाबाट उन्मुक्ति दिने नाममा नयाँ स्टक एक्सचेन्ज घुसाउन सफल भएका छन् ।

सेबोनका अध्यक्ष हमालले व्यक्तिगत लाभ र आफ्नो घर जग्गा, श्रीसम्पत्ति जोड्न छ अर्बको सेटिङ गरेका भए उनका दर सन्तानबाट एक दिन जनताले असुल गर्ने थिए तर त्यसो पनि नगरी २०६४ को संविधानसभा निर्वाचनमा नेपाल प्रहरी सुडान घोटाला काण्ड रचना गरे झै गरी दलहरुलाई चुनाव खर्च भेला पार्न नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुलाएका छन् । जसले गर्दा नयाँ स्टक एक्सचेन्ज परियोजनाले देशको अर्थतन्त्र थप अप्ठेरो अवस्थातर्फ धकेलेमा छ अर्ब घोटाला काण्डमा जनताले कुन दलका नेतालाई दण्डित गर्ने हो ? अन्योलता उत्पन्न भएको छ ।  १०० रुपैयाँको शेयरको मूल्य ३०० उठाएर नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ । अन्ततः धितोपत्र बोर्डले छ अर्ब रुपैयाँ घोटाला काण्ड अघि बढाउन सफल भएको छ ।  यो माफिया र दलालतन्त्रको सफलता र सिंगो लगानीकर्ताहरुको लागि अप्ठेरो दिनको सुरुवात हो ।

कोरोनाकालमा देशमा थर्मल गनको हाहाकार थियो । तर, केही माफियाहरुले त्यही थर्मल गन चीनबाट भित्राए अनि कलोबजारीमा बिक्री गरी अर्बौ रुपैयाँ भेला पारेका थिए । सोही पैसा तह लगाउन नेताहरुको लागि नीति बदल्ने कामले देशको अर्थतन्त्र थप कमजोर बन्ने र लगानीकर्ताहरु थप डुब्ने अन्ततः आत्महत्या गर्ने अवस्थामा पुर्याउने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ ।

यतिबेला लगानीकर्ताहरुले नयाँ स्टक एक्सचेन्ज खोजेका होइनन्, विद्यमान शेयर कारोबार प्रणाली, ब्रोकर नियन्त्रित कारोबार पद्धति, मन लागेकालाई उधारोमा अर्बौको कारोबार गर्न दिन नयाँ लगानीकर्ताहरुले पैसा लगानी गरेर पनि किन्न सिष्टम अबरोध गर्ने नेप्से र ब्रोकर कम्पनीहरुको कार्यशैलीको विकल्प खोजेका हुन् । लगानीकर्ताहरुले ब्रोकरको विकल्प खोजेका हुन् । पारदर्शी कारोबार प्रणाली खोजेका हुन् । समस्या नहुने सिष्टम खोजेका हुन् र प्रभावकारी पद्धति खोजेका हुन् ।

लामो समयदेखि समस्याबाट गुज्रिरहेका लगानीकर्ताहरु नयाँ ब्रोकर कम्पनीहरुको लाइसेन्स खुल्ला गर्ने निर्णयले केही राहत पक्कै दिएको छ । अहिले आजै मात्रै नयाँ ब्रोकर कम्पनीको लाइसेन्स खुल्ला गरिएकोले नयाँ ब्रोकर कम्पनी थपेर एक पटक नेप्सेलाई सुधार गरेर हेर्दा के बिग्रन्छ ? चुनावका मुखमा राजनीतिक पार्टीहरुको छ अर्ब रुपैयाँ घुस संकलन गर्ने मतियार नियामक निकाय बन्नु कति उचित हुन्छ तातो बहस आवश्यक छ ।

अहिलेको नेप्सेमा उत्पन्न समस्याको एउटा जड ब्रोकर कम्पनीहरु पनि हुन् । विगतमा ब्रोकर लाइसेन्स दिइएको भए आज यस्तो अवस्था आउने पक्कै थिएन । नयाँ ब्रोकर कम्पनीको लाइसेन्स दिएपछि नेप्सेमार सुधार हुन्छ कि हुँदैन भनेर नतिजा नहेरी नयाँ लाइसेन्स खुल्ला गर्ने रमेश हमालको निर्णयलाई किमार्थ लगानीकर्ता मैत्री र वैज्ञानिक मान्न सकिदैन ।

अहिलेको विद्यमान नेप्सेलाई लगानीकर्ताहरुले सरकार नियन्त्रणबाट खोेसेर स्वतन्त्र नियमनमा ल्याउन खोजेका थिए न कि निजि कम्पनीको स्टक एक्सचेन्ज । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुल्ला गर्दा विगतमा टेलिकम क्षेत्रमा भए जस्तै नहोला भन्न सकिदैन । सस्तो टेलिकमmको विकल्पमा महंगो एनसेलको मारमा जनता अहिले पनि छन् । विकल्प त हो, त्यसले राज्यकोषमा कति दोहन गर्यो र जनतालाई कसरी शोषण गरेको छ भनेर हेर्न जरुरी छ । त्यसैले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सपछि लगानीकर्ताहरु थप तातो भुङ्ग्रोमा पर्ने सबै सचेत हुने हो कि ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*