सेबोनद्धारा नयाँ ब्रोकर लाइसेन्स खुल्ला, नेप्सेमा सुधारका लागि ऐतिहासिक कदम

२ आश्विन २०७९, आईतवार ०९:५५

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज नयाँ ब्रोकर लाइसेन्स खुल्ला गरेको छ । आज सार्वजनिक सूचनामार्फत ३० दिनभित्र ब्रोकर लाइसेन्स तथा शेयर दलाल सम्बन्धी काम गर्न इच्छुक संस्थालाई प्रस्ताव आह्वान गरिएको छ ।

यसअघि बोर्डको नियमावली स्वीकृत भएसँगै बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुल्ला गरेको हो । नियमावली अनुसार अबको पाँच वर्षपछि मात्रै नयाँ ब्रोकर लाइसेन्स खुल्ला गर्न पाइनेछ । त्यसैले यस पटक ब्रोकर कम्पनीहरुको लाइसेन्स निकै महत्वपूर्ण रहेको छ ।

नेप्सेमा शेयर कारोबार गर्दा झण्झटिलो व्यवस्थाको सामना गर्दै आएका, चाहेको समयमा खरिद गर्नै नसक्ने र बिक्री गर्न खोज्दा अनेकन झन्झट आउने, रियल टाइम सूचना नपाइने तथा ब्रोकर कम्पनीहरुले शेयर बिक्री बापतको रकम समयमा नदिने झन्झटिलो अवस्थाको अन्त्यको लागि नयाँ ब्रोकर लाइसेन्स खुल्ला गरिएको हो । नयाँ ब्रोकर लाइसेन्स दिने सेबोनको निर्णयको लगानीकर्ताहरुले स्वागत गरेका छन् ।

सूचना अनुसार आगामी ३० दिनभित्र आवेदन दिने आवश्यक प्रक्रिया पूरा गरेका कम्पनीहरुले ब्रोकर लाइसेन्स पाउनेछन् । त्यसको लागि उनीहरुले सेबोनले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ ।

हाल नेपालमा ५५ वटा ब्रोक कम्पनीहरु सञ्चालनमा रहेका छन् । उनीहरुबाट प्राताडित बनेका लगानीकर्ताहरुले नयाँ ब्रोकर कम्पनी स्थापना गर्न माग गरेको धेरै समय भइसकेको छ । तर, सरकारले विभिन्न कारणले नयाँ लाइसेन्स दिन सकेको थिएन । विगतमा बैंकलाई ब्रोकर लाइसेन्स दिने भनेर तयारी गरिएको थियो, तर विवादका कारण त्यो पनि सफल हुन सकेन् ।

 

विगतमा सानो सानो आकारमा हुने शेयर कारोबार अहिले ह्वात्तै बढेर निकै ठूलो भइसकेको छ । तर, तिनै ब्रोकर कम्पनीहरुका कारण लगानीकर्ताहरुको काम प्रभावकार रुपमा सञ्चालन हुन सकेको थिएन । लगानीकर्ताहले समयमा शेयर खरिद गर्नेबाट रकम उठाएर नदिने मुख्य समस्या थियो । शेयर बिक्री गरेको पैसा महिनौसम्म झगडा गर्नुपर्ने र खरिद गरेको शेयरको रकम तत्काल भुक्तानी नगरे जरिवना तिराउने व्यवस्थाले लगानीकर्ताहरु हैरानीमा पर्दै आएका थिए ।

नयाँ लाइसेन्स खुल्ला सम्बन्धी प्रक्रिया पुरा भएपछि ब्रोकरहरुबाट प्रवाह हुने सेवा प्रवाह चुस्त दुरुस्त भई लगानीकर्ताहरुले निकै सहुलियत पाउने विश्वास छ । त्यस्तै माफियासँगको सेटिङमा ब्रोकर कम्पनीहरुले गर्ने शेयर खरिद बिक्रीलाई प्रभावित पार्ने कार्य समेत प्रभावित पार्ने कार्य रोकिने विश्वास लिइएको छ । लामो समयदेखि लगानीकर्ताहरुले माग गर्दै आएको, पत्रकार तिलक कोइरालाले दुई पटक आमरण अनसन बसेर सम्झौता गरेको महत्वपूर्ण मुद्दा समेत भएकोले ब्रोकर लाइसेन्स खुल्ला सम्बन्धी सेबोनले निर्णयले पुँजि बजारमा ऐतिहासिक फड्को मार्ने लगानीकर्ताहरुको भनाई छ ।

उक्त सञ्चालनमा रहेका ब्रोकर कम्पनी मध्ये जम्मा १० वटा कम्पनीहरुले दैनिक हुने कारोबारको ठूलो हिस्सा ओगट्दै आएका छन् । शेयर बजारलाई उनीहरुले नै प्रभावित पारेको आरोप लाग्दै आएको थियो । नयाँ लाइसेन्ससँगै सीमित ब्रोकर कम्पनीहरुको सिण्डिकेट तोडिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*