शेयरबजारमा ३८ अंकको गिरावट, हाइड्रोपावर र फाइनान्स सूचक सर्वाधिक घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा ३८.८१ अंकले घट्न पुगेको छ । अघिल्लो साताका दुईदिन सुधारको संकेत देखिन थालेको शेयरबजार बैंकहरुको नयाँ ब्याजदरले यस साता शेयरबजार प्रभावित बन्न पुगेको छ ।
नेपाल बैंकर्स संघको भदौ ३१ गतेको निर्णयअनुसार बैंकहरुले राष्ट्र बैंकको निर्देशमा रही आफुखुशी ब्याजदर निर्धारण गर्न पाउने भएसँगै बैंकहरुले भटाभट ब्याजदर बढाएर सार्वजनिक गरेको थियो । बैंकहरुको ब्याजदर बढेसँगै शेयरबजारमा एकाएक उच्च अंकको गिरावट आएको छ ।
आज नेप्सेमा ३८ अंकको गिरावट आइ इन्डेक्स १८३७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २२ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स सूचकको ३.८३ प्रतिशत र हाइड्रोपावर सूचक ३.३७ प्रतिशतले घटेको छ ।













