‘हामी आफ्ना लागि घर बनाउँछौं, अब आफ्नै लागि बीमा गरौं’: अध्यक्ष सिलवाल

धनगढी । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आम सुदुरपश्चिम क्षेत्रका जनतालाई मानिसहरुले बस्नको लागि घर बनाए जस्तै आफ्ना लागि बीमा गर्नु अपरिहार्य भएको बताएका छन् । सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा बीमा समितिको प्रदेश शाखा कार्यालयको उद्घाटन समारोहमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भने, ‘घर भनेको आफ्नो लागि हो, हामी आफ्नो लागि बस्नको लागि ऋण लिएरै भएपनि घर बनाउँछौं अब आफ्नै लागि बीमा गर्नुपर्दछ।’
अर्थमन्त्रालय जनार्दन शर्माले आज उद्घाटन गरेको धनगढीस्थित प्रदेश कार्यालय यसअघि नै सञ्चालनमा आईसकेको भएपनि विधिवत रुपमा आजबाट औपचारिक रुपमा उद्घाटन गरिएको हो । कार्यक्रममा अध्यक्ष सिलवालले बीमा समितिले ७ वटै प्रदेश र देशको ७० वटा स्थानीय निकायसँग बीमा सचेतना कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै बीमा सचेतना धेरै नै महत्वपूर्ण विषय भएको बताए ।
धनगढी प्रदेश कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमाबारेमा जनतामा अझै भ्रम रहेको बताउँदै यसलाई सबै मिलेर चिर्नुपर्ने बताए । अध्यक्ष सिलवालले बीमितले जम्मा गरेको रकम फिर्ता लिन तथा घटनापछि दावी भुक्तानी लिन सकिदैन कि भन्ने भ्रम रहेको बताउँदै यसलाई चिर्न घर घरमा पुगेर बीमा सचेतना फैलाउनुपर्ने बताए । अध्यक्ष सिलवालले हाम्रा घर, पसल, कृषि, पशुपंक्षी सबैको बीमा गर्यौं भने मात्रै सुरक्षित हुन्छौं भन्ने कुरा आम जनतालाई बुझाउन आह्वान गरेका छन् ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा जनताको लागि अनिवार्य चिज भएको बताउँदै सबैले बीमा गरौं भन्ने सन्देश गाउँ गाउँमा पुर्याउनुपर्ने बताए । कार्यकारी निर्देशक पौडेलले बीमा सचेतना बढाउन प्रदेश कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा ओम अधिकारीले कार्यक्रमका सहभागीहरुलाई स्वागत गरेका थिए । तस्विरः गिता अधिकारी













