एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, १४ प्रतिशत लाभांश मुख्य प्रस्ताव

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण आज (असोज १३) गते बस्दैछ । कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट बस्नेछ ।
उक्त सभाले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी २ अर्ब ५३ करोड रुपैयाँबाट १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
साथै उक्त सभाले बोनस शेयर पश्चातको जारी पुँजी र चुक्तापुँजी बृद्धि गर्ने, कम्पनीको हाल कायम संस्थापक र सर्वसाधारणको शेयर ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृत पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसबाहेक कम्पनीले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको एनएफआरएस प्रणाली बमोजिम असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धि विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापीक्षकको नियुक्त तथा निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गते एक दिनका लागि बुकक्लोजको गरेको थियो । यसअनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन तथा प्रस्तावित लाभांश पाउनेछन् ।












