त्रिशुली जलविद्युत कम्पनीको शेयरमा चुक्ता हुन बाँकी रकम १० करोड ११ लाख रुपैयाँ जम्मा

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको शेयरमा चुक्ता हुन बाँकी रकम ४९ हजार ५९४ जना आवेदकले जम्मा गरेका छन् । कम्पनीले आफ्ना शेयरधनीहरुलाई माग गरेको शेयरमा चुक्ता हुन बाँकी रकम बुझाउन अनुरोध गरेको छ।
आजसम्ममा ४९ हजार ५९४ जना शेयरधनीहरुले ११ लाख ६२ हजार २७७ कित्ता बराबरको १० करोड ११ लाख १८ हजार ९९ रुपैयाँ रकम जम्मा गरेका हुन् ।कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो। सो शेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो।
सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँको दरले माग गरिएको हो। शेयरधनीहरुले कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ।
माग गरिएको ९० रुपैयाँमध्ये शेयरधनीहरुले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ। रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज भएकोले ८७ रुपैयाँ बुझाउन कम्पनीले आव्हान गरेको हो।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीबाट साविकका सर्वसाधारण शेयरधनीहरुलाई आव्हान गरेको चुक्ता हुन बाँकी रकम बुझाउनका लागि समयमा नै आफ्नो हितग्राही खाता र बैंक खाता अद्यावधिक गर्न र मेरोशेयर नविकरण गर्न कम्पनीले अनुरोध गरेको छ।
शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएक एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउनरआवेदन गर्न सक्नेछन्।












