गलत सल्लाह सुन्दा उपहासको पात्र बने अर्थमन्त्री शर्मा, ब्याजदर घटाउन नसकिने निष्कर्ष

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गत भदौंको अन्तिम साता हस्तक्षेप गरेर ब्याजदर घटाउने बारे चर्का अभिव्यक्ति दिए । अर्थशास्त्रबारेमा पर्याप्त जानकारी नभएका गलत सल्लाहकारको कुरा सुनेर हौसिएका अर्थमन्त्री शर्माले हस्तक्षेप गरेर चर्को ब्याजदर घटाउने बारेको अभिव्यक्तिलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय अन्तर्र्गतका आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सह–सचिव बाबुराम सुवेदीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल बनाएर चर्को रुपमा बढेको ब्याजदर सरकारले हस्तक्षेप गरेर घटाउने निर्णय गरे ।
तर, कार्यदलले हिजो अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनमा ब्याजदर घटाउन हस्तक्षेप गर्नुपर्ने सुझाव दिन सकेन । ब्याजदर घटाउन गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनसँगै अर्थमन्त्री जनार्दन शर्मा उपहासको पात्र बनेका छन् ।
अर्थमन्त्री शर्माको ब्याजदर घटाउन सरकारले हस्तक्षेप गर्ने अभिव्यक्ति अर्र्थतन्त्रको सैद्धान्तिक दृष्टिबाट त्रुटीपूर्ण थियो । तर, आर्थिक सल्लाहकार नराखी अर्थमन्त्रालय चलाइरहेका अर्थमन्त्री शर्मालाई त्यसको वास्तविकता भनिदिने कोही भएनन् । साथै चुनाव र गठबन्धनको तनाावका बीचमा अर्थमन्त्री शर्माले सो सम्बन्धमा समय दिएर कुरा सुन्न समेत भ्याएनन् र एउटा कार्यदल बनाउर जिम्मा दिए ब्याजदर घटिहाल्छ भन्ने हेतूले प्रस्तुत भए ।
अर्थमन्त्री शर्माले ब्याजदरमाथि सरकारले हस्तक्षेप गरेर घटाउन प्रक्रिया अघि बढेपछि शेयर बजारमा सकारात्मक प्रभाव समेत देखियो । केही दिन बढेको शेयर बजार पुनः ओरालो लाग्ने क्रम जारी छ ।
ब्याजदर घटाउने कार्यदलमा भएको छलफलमा निक्षेपको चर्को अभावका कारण ब्याजदर बृद्धि भएको र ब्याजदर घटाउँदै उल्टै निक्षेप घटेर झनै भयावह अवस्था आउन सक्ने चेतावनी बैंकरहरुबाट आएपछि कार्यदलले समेत यस्तो निर्णय गर्न सकेन ।
कार्यदलमा भएको छलफलमा निक्षेप खोज्ने उपाय निकालेको खण्डमा स्वतः ब्याजदर घट्ने भएकोले सरकारले त्यतातर्फ ध्यान दिनुपर्ने सुझाव दिएको छ । अब अर्थमन्त्री शर्माको काँधमा ब्याजदर घटाउन निक्षेप खोज्नुपर्ने अर्को दायित्व थपिएको छ ।












