आज नेपाल सम्वतको नयाँ वर्ष मनाइदै, आजै म्हपूजा गरिदै

काठमाडौं । नेपालको मौलिक सम्वत ११४३ को नयाँ वर्ष आज मनाइदैछ । नेपाल सम्वत भनिए पनि हाल नेवारी समुदायले मात्रै मनाउँदै आएको छ । नेपाल सम्वतलाई नेपाल सरकारले राष्ट्रिय सम्वतको रुपमा प्रयोग गर्दै आइरहेको छ ।
आज नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विस ९३७ को आजैका दिन तत्कालिन सामाजिक अभियान्ता शंखधर साख्वाले गरिब जनतालाई ऋणबाट मुक्त गर्ने घोषणा गरेका थिए । जनतालाई ऋणमुक्त गराएकै कारण भाइटिकाको अघिल्लो दिन अर्थात कार्तिक शुक्ल प्रतिपदादेखि नयाँ सम्वत घोषणा गरिएको थियो । शुक्ल प्रतिपदालाई नयाँ वर्षको रुपमा मनाइदै आएको छ ।
अन्य सम्वतहरु सूर्र्य गणनामा आधारित भएपनि नेपाल सम्वत चन्द्रमा गणनामा आधारित छ । अर्थात तिथिका आधारमा नेपाल सम्वतको गणना हुन्छ । सो सम्वतको आज पहिलो दिन हो । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् नेपालको मौलिक सम्वत हो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।
नेपाल सम्वत अहिले नेपाल सरकारको राष्ट्रिय सम्वतको रुपमा मान्यता दिएको छ । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरेर भव्य रुपमा मनाउँदैछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नै आत्म (म्हः) पूजा गरिन्छ । म्हः पूजामा आफैले आफैलाई पूजा गरेर रमाइलो गर्दै मनाउने गरिन्छ ।












