खर्च बढेसँगै सिवाईसी नेपाल लघुवित्तको खुद नाफा घट्यो, इपीएस कति ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।
चालु आवको असोज मसान्तसम्म लघुवित्तको खुद नाफा ४४.७३ प्रतिशत घटेर १ करोड ५१ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिसम्म लघु्वित्तको खुद ब्याज आम्दानी बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.१० प्रतिशत बढेर ६ करोड ४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५.५५ प्रतिशत घटेर २ करोड ४२ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८३ रुपैयाँ ६३ पैसा घटेर ४९ रुपैयाँमा ७८ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेको छ भने जगेडा कोष १४४.१२ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको निक्षेप ५१.५० प्रतिशत, सापटी २००.५० प्रतिशत र कर्जा ७६.८२ प्रतिशत बढेको छ ।












