गुराँस लघुवित्तको नाफासहित अधिकांश सूचक ऋणात्मक

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६० लाख २२ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी आम्दानी लगायतका आम्दानी घटेसँगै लघुवित्तले नोक्सानी व्यहोर्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६३.४१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २३.६३ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४९.५० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ७१ पैसा ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ४३ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १६.९१ प्रतिशत बढेको छ भने जगेडा कोष ३७.१३ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको सापटी ०.८६ प्रतिशत, निक्षेप ३६.९८ प्रतिशत र कर्जा १०.३२ प्रतिशत बढेको छ ।












