निष्क्रिय कर्जा बढ्दा आशा लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा एक करोड रुपैयाँ

२३ कार्तिक २०७९, बुधबार ११:५२

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।

चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ६३.७५% ले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड १३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म लुघवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवै घट्न पुगेकोले लघुवित्तको नाफा प्रभावित बन्न पुगेको हो । खुद ब्याज आम्दानी ३८.४५ प्रतिशतले घटेर ६ करोड ५९ लाख रुपैयाँ र संचालन मुनाफा ६३.६९ प्रतिशतले घटेर २ करोड ६५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

साथै.गत आर्थिक वर्षको यस अवधिसम्म ४.३७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस अवधिसम्म बढेर ४.६५ प्रतिशत पुगेको छ । यसकारण पनि लघुवित्तको नाफा घट्न पुगेको हो ।

संस्थाले यस अवधिसम्म २ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको सापट लिएर ४ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म यसले १ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

लघुवित्तको वितरण योग्यनाफा १ करोड ५ लाख रुपैयाँ छ । यसअवधिमा लघुवित्तले इम्पेयरमेन्ट चार्ज बापत ५२ लाख रुपैयाँ छुट्याएको छ । आशाको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ छ । जगेडा कोषमा १० करोड ५१ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ २० पैसाले घटेर २२ रुपैयाँ ३० पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*