स्वाभिमान लघुवित्तका कर्मचारीमाथि कुटपिट

काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीमाथि कुटपिट भएको छ । लघुवित्तको मसुरिया शाखा कार्यालयका कर्मचारीहरु विगत ८ महिनादेखि रोकिएको किस्ता असुलीको लागि सदस्यको घरमा पुग्दा कुटपिट भएका हुन्।
सो घटनालाई लिएर लघुवित्त कर्मचारी मञ्च कपिलवस्तुले एक विज्ञप्ति जारी गर्दै घोर भत्सर्ना जनाएको छ । मञ्चका अनुसार कात्तिक २७ गतेको दिन उक्त संस्थाको मसुरिया शाखाका कर्मचारीहरु लामो समयदेखि रोकिएको किस्ता असुलीको लागि दाङ जिल्ला गढवा गाउँपालिका वडा नं. ५ स्थित सदस्य कमला सुनारको घरमा जादा कुटपिटमा परेका हुन् ।
निज सुनारले आफ्नो घर तथा समूह सदस्य बाहिरको व्यक्तिलाई बोलाई संस्थाका कर्मचारी गीता कुमाल र मनिता कुमारी चौधरीमाथि निर्घात रुपमा कुटपिट गरी गम्भिर चोट पुर्याएको लघुवित्त कर्मचारी मञ्च कपिलवस्तुले जनाएको छ ।
साथै मञ्चले सम्पूर्ण लघुवित्त कर्मचारीलाई संयमित हुँदै काम गर्नको लागि अनुरोध गर्दै कर्मचारीलाई जिउ ज्यानको सुरक्षाको माग गर्दै दोषीलाई कडा रुपमा कारबाही होस् भनि भत्सर्ना जनाएको छ ।












