३१ लघुवित्त कम्पनी मध्ये २४ को अवस्था बिग्रदै, चार कम्पनी घाटामा, २० वटाको मुनाफा घट्यो (तथ्याङ्कसहित)

काठमाडौं । हालसम्म ३१ लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । संचालनमा रहेका लघुवित्तहरुमध्ये आधाजसो लघुवित्त संस्थाहरुले मात्रै प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण प्रकाशन गरेका कम्पनीहरु मध्ये अधिकांशको अवस्था कमजोर देखिएको छ ।
सार्वजनिक विवरणअनुसार अधिकांश लघुवित्तहरुको मुनाफा गत आवको यसै अवधिसम्मको तुलनामा घट्न पुगेको छ । सो मध्ये ४ वटा लघुवित्त संस्थाले नोक्सानी नै ब्यहोर्न बाध्य भएका छन् ।
खुद नाफाकै आधारमा हेर्ने हो भने सबैभन्दा बढी मुनाफा आर्जन गर्ने संस्थामा छिमेक लघुवित्त वित्तीय संस्था रहेको छ । लघुवित्तले यस अवधिसम्म ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन यो नाफा गत आवको तुलनामा ५३.७१ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म लघुवित्तले २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, दोस्रोमा जीवन विकास लघुवित्तले पनि चालु आवको तीन महिनामा १४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तर यस लघुवित्तको नाफा भने गत आवको तुलनामा घटेको छ । गत आवको यसै अवधिसम्म लघुवित्तले १७ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
साथै तेस्रोमा आरएमडिसि लघुवित्तले पनि सो अवधिसम्म १० करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । लघुवित्तको नाफा ५४.१६ प्रतिशतले बढेको हो । त्यस्तै, एनआइसी एशिया लघु्वित्तको खुद नाफा पनि ६ करोड ५७ लाख रुपैयाँ रहेको छ । लघुवित्तको नाफा गत आवको तुलनामा ६८.१८ प्रतिशतले घटेको छ ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ६ करोड ३७ लाख, नेष्डो समृद्ध लघुवित्तको ५ करोड ६४ लाख, आरएसडीसी लघुवित्तको ३ करोड ८२ लाख, निर्धन उत्थान लघुवित्तको ३ करोड २५ लाख, मिर्मिरेको २ करोड ८२ लाख, ग्लोबल आइएमइको २ करोड ६७ लाख, आशाको १ करोड ८६ लाख, समीटको १ करोड ८५ लाख, नेरुडेको १ करोड ७० लाख, सिवाइसी नेपालको १ करोेड ५१ लाख, कालिकाको १ करोड ३१ लाख, सिभिलको ७२ लाख ८३ हजार, गणपतिको ६८ लाख ९२ हजार, आरम्भ चौतारीको ६६ लाख ४० हजार, महुलीको ५८ करोड २८ लाख, धौलागिरीको ४५ लाख ५५ हजार, उपकारको ४२ लाख ९६ हजार, मिथिलाको ४२ लाख ६३ हजार, समता घरेलुको ४१ लाख ६२ हजार, राष्ट्र उत्थानको ३८ लाख २३ हजार, आँधिखोलाको १९ लाख ८९ हजार, सर्पोटको ४ लाख ४५ हजार र आदर्शको ३ लाख ४५ हजार रुपैयाँ खुद नाफा रहेको छ ।
नाफामा उक्लिएका संस्थाहरु
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार ३१ लघुवित्त मध्ये ७ वटा लघुवित्त संस्थाहरु मात्रै नाफामा उक्लिएका छन् । जसमध्ये सबैभन्दा बढी नाफामा प्रोगे्रस गर्ने संस्थामा गणपति लघुवित्त रहेको छ । लघुवित्तले सो अवधिसम्म १५४.६९ प्रतिशतले खुद नाफा प्रागे्रस गरेको छ ।
त्यस्तै, आरएसडीसी लघुवित्तले पनि पहिलो त्रैमासमा १०१.९८ प्रतिशतले नाफामा जम्प गरेको छ । त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सले ६१.७९ प्रतिशत, आरएमडीसीले ५४.१६ प्रतिशत, छिमेक लघुवित्तले ५३.७१ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तले ११.३० प्रतिशत र उपकार लघुवित्तले ३.८९ प्रतिशतले नाफा बढाएको छ ।
त्यस्तै सो मध्ये अन्य २० लघुवित्त संस्थाहरुको खुद नाफा भने गत आवको तुलनामा घट्न पुगेको छ । सबैभन्दा बढी मुनाफा घट्ने संस्थामा निर्धन उत्थान लघुवित्त रहेको छ । लघुवित्तको यस अवधिसम्म नाफा ८३.८८ प्रतिशतले घटेको छ ।
नोक्सानमा रहेका संस्थाहरु
३१ लघुवित्त संस्थाहरुमध्ये चारवटा लघुवित्त संस्थाहरु पहिलो त्रैमाससम्ममा नोक्सानमा रहेका छन् । जसमा सबैभन्दा बढी नोक्सान ब्यहोरेको संस्थामा ग्रामिण विकास लघुवित्त रहेको छ । लुघवित्तले सो अवधिसम्म १ करोड १८ लाख रुपैयाँ घाटा बेहोरेको छ । गत आवको यसै अवधिसम्म लघुवित्तले ९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, युनिक नेपाल लघुवित्तले पहिलो त्रैमाससम्ममा २२ लाख ७५ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । गत आवको यसै अवधिसम्म लघुवित्तले ३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । साथै स्वाभिमान लघुवित्तले ६७ लाख ८२ हजार रुपैयाँ र गुराँस लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।













