सामान्य अंकले घट्यो शेयरबजार, शेयर फुकुवा नहुँदा कारोबार ७७ करोडमा सीमित

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । गत साताको सुरुवाततिर एकाएक आक्रामक सुधार देखिएको शेयरबजारमा आज झिनो अंकको गिरावट देखिएको हो ।
आज नेप्से परिसूचक १० अंकले घटेर १८८३ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर खरिदबिक्री हुँदा जम्मा ७७ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरको प्रक्रियामा रहेका कारण पनि नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरेको छ । नेपाल धितोपत्र बोर्डले नयाँ निर्देशिका जारी गर्दै एक साताभित्र रोक्का रहेका सबै कम्पनीको शेयर फुकुवा गर्ने निर्णय गरेको छ ।
लगानीकर्ताहरु उक्त कम्पनीका शेयर फुकुवाको प्रतिक्षामा रहेका छन् । रोक्का रहेका कम्पनीहरुको शेयर कारोबारमा आएसँगै शेयरबजारमा कारोबार रकम माथि उक्लिन सक्ने आम लगानीकर्ताहरुले प्रक्ष्येपण गरिरहेका छन् ।












