यसकारण घट्यो डिप्रोक्स लघुवित्तको मुनाफा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनि गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।
चालु आवको तीन महिनासम्ममा लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.८९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.४३ प्रतिशत घटेर ३३ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ भने फि, कमिशन तथा डिस्काउण्ट ४.८५ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३.०९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४३.१३ प्रतिशत घटेर १४ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ
समिक्षा अवधिसम्म संस्थाको निष्क्रिय कर्जा ३.०१ प्रतिशतविन्दु बढेर ३.६८ प्रतिशत पुगेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । जसका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ७५ पैसा घटेर ३४ रुपैयाँ २९ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा रहेको छ।
असोज मसान्तसम्ममा १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित रहेको छ । सो अवधिसम्ममा लघुवित्तको निक्षेप तथा सापटी १६ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कर्जा १८ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।












