चिलिमे हाइड्रोपावरको मुनाफा २० करोड ७८ लाख रुपैयाँ

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको छ ।
चालु आवको तीन महिनासम्ममा कम्पनीले २० करोड ७८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत आवको तुलनामा २.१४ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले २० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १.१८% ले बढेर ३५ करोड ५८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट ३५ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको वित्तीय नाफा ५५.४७% ले बढेर ३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा कम्पनीको खुद नाफामा सुधार देखिएको हो । कम्पनीको सञ्चालन आम्दानी भने ३.२१% ले घटेर २२ करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।
चिलिमेको चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ रहको छ । रिटेन अर्निङमा ३ अर्ब ८३ करोड २६ लाख रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ४ पैसाले बढेर १२ रुपैयाँ १९ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७७ पैसा छ ।












