निष्क्रिय कर्जा बढ्दा एनएमबि लघुवित्त नोक्सानमा, इपिएस समेत ऋणात्मक

काठमाडौं । एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिसम्म नोक्सानी ब्यहोरेको छ ।
चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा लघुवित्तले ३ करोड २४ लाख ६० हजार रुपैयाँ कमाएको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी घटेका कारण र सञ्चालन नाफा समेत ऋणात्मक रहेकाले लघुवित्तको नाफा प्रभावित देखिएको हो । यस अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २२.५० प्रतिशतले घटेको छ भने सञ्चालन नाफा पनि ८१ लाख ७७ हजार रुपैयाँले नोक्सानमा रहेको छ । त्यस्तै, लघुवित्तको निष्क्रिय कर्जा २.३१ प्रतिशले बढेर ५.६८ पुगेको छ यसकारणले गर्दा पनि लघुवित्तको मुनाफा ऋणात्मक रहेको हो ।
कम्पनीको खुदनाफा घटेपछि प्रतिशेयर आम्दानी गतवर्ष १ सय ७३ रुपैयाँ ६५ पैसा रहेकोमा यस वर्षमा १ सय ५५ रुपैयाँ २४ पैसामा सीमित रहेको छ । यस अवधिसम्म लघुवित्तको चुक्तापुँजी २१.५० प्रतिशतले बढेको छ भने रिजर्भको आकार भने ८.८८ प्रतिशतले घटेको छ । त्यस्तै, सापटी ४.९२ प्रतिशत, निक्षेप ४.१० प्रतिशत र कर्जा परिचालन ५.०५ प्रतिशतले बढेको छ ।












