शेयरबजारमा दोहोरो अंकको सुधार, ९४ करोडमाथिको कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से परिसूचक आज २१.२६ अंकले बढेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ ।
मंसिर महिनामा बैंकहरुले ब्याजदर नबढाई यथावत् राख्ने विषयले गर्दा पनि आज शेयरबजारमा सुधार देखिएको हो । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच हुँदा ९४ करोड ६० लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।
शेयरबजारमा दोहोरो अंकको सुधार देखिएपनि कारोबार भने खासै सन्तोषजनक देखिएको छैन । नेप्सपेमा सूचीकृत केही बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मर्जरको प्रक्रियामा रहेका कारण पनि नेप्सेले सो कम्पनीहरुको शेयर कारोबार रोक्का गरिदिएको छ ।
नेप्सेमा दोहोरो अंकको सुधार आएसँगै आज तारागाउँ रिजेन्सी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी इक्विटी फण्डले सर्वाधिक गुमाएको छ ।












