मर्जर प्रक्रियामा रहेको साना किसान लघुवित्तको नाफा २३ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार

काडमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा उल्लेख्य बृद्धि भएको छ ।
चालु आवको पहिलो त्रैमाससम्ममा लघुवित्तले २३ करोड २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा ४१.८३% ले धेरै हो । गत वर्षको यसै अवधिसम्ममा लघु्वित्तले १६ करोड ४१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवै बढ्न पुग्दा नाफामा सुधार देखिएको हो । असोज मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ४३.८६% र सञ्चालन नाफा ४१.६०% ले बढेको छ ।
यस अवधिसम्म संस्थाको चुक्ता पुँजी २५% ले बढेर १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार १७ प्रतिशतले बढेर कोषमा १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ संचित रहेको छ ।
कम्पनीको खराब कर्जा ०.७५% मा सीमित छ । यता, खुद नाफामा सुधार भएसँगै प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ८८ पैसाले बढेर ५९ रुपैयाँ ५२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २८२ रुपैयाँ २० पैसा छ ।
त्यस्तै सो अवधिसम्म संस्थाको सापटी २७ प्रतिशत र कर्जा परिचालन २८.४८ प्रतिशतले बढेको छ भने सो अवधिसम्म संस्थाले एक अर्ब ३२ करोड निक्षेप संकलन गरेको छ । साना किसान हाल आरएमडीसी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।












