कालिञ्चोक केबलकारले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । कालिञ्चोक केबलकार दर्शन प्राईभेट लिमिटेडले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो ।
दोलखाको कालिञ्चाकमा केबलकार संचालन गरिरहेको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । निष्काशन हुने कुल आइपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई १० प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँको जारी गर्ने कम्पनीले जनाएको छ । सोपछि सर्वसाधरणका लागि जारी गर्नेछ ।
कम्पनीले आइपीओ निष्काशन गर्न यसअघि नै नबिल इन्भेष्टमेन्टलाई शेयर बिक्री प्रबन्धक तथा निष्काशकमा नियुक्त गरिसकेको छ ।
धितोपत्र बोर्डले आइपिओ जारी गर्ने प्रस्ताव स्विकृत गरिसकेको छ । अब कम्पनीको साधारण सभाले अनुमति दिएपश्चात कम्पनीले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने छ ।












