कोरोना बीमा बापतको रकम भुक्तानी गर्न सबै बीमा कम्पनीहरुलाई नेपाल बीमक संघको निर्देशन

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाको दावी भुक्तानी बापतको रकम भुक्तानी गर्न सबै बीमा कम्पनीहरुलाई पत्र पठाएको छ । संघका अध्यक्ष चंकी क्षेत्रीले आज सबै कम्पनीहरुलाई पत्राचार गर्दै बीमा कम्पनीहरुले आ–आफनो हिस्साको भुक्तानी गर्न निर्देशन दिएको हो । बीमक कम्पनीहरुका अध्यक्ष तथा सञलकहरुले कोरोना बीमा बापतको रकम भुक्तानी गर्नेबारेमा अन्योल देखिएको बेला संघले यस्तो निर्देशन दिएको हो ।
बीमक संघले कोरोना बीमा मापदण्ड निर्देशिका २०७७ ले तोकेको सिमा भन्दा बढि भुक्तानी आकष्मिक बीमाकोषबाट मिलान गरि संचित मुनाफामा सार्न सकिने कम्पनीहरुलाई जानकारी गराएको छ । सो खर्चलाई वास्तविक खर्चको रुपमा स्वीकार गर्न कर विभागमा समेत सहजता गरिदिने बीमा प्राधिकरणले आश्वासन दिएको समेत बताएको छ । जसका कारण बीमकहरुको वित्तिय विवरणमा खासै ठूलो असर नपर्ने संघले जनाएको छ ।
संघले कोरोना बीमा दाबी भुक्तानी गर्दा व्यक्ति तथा परिवारको मात्रै दाबी भुक्तानी गर्न भनेको छ । समानुपातिक रुपमा बाँडफाँड गर्दा व्यक्ति तथा परिवारलाई तिर्नुपर्ने दाबी संख्या भन्दा बढी रकम नदिन समेत निर्देशन दिएको छ ।
संघले पत्रमार्फत कोरोना बीमा दाबी भुक्तानी सम्बन्धमा नियामक निकायबाट भएको अथक पहललाई मध्यजनर गरी तथा कोरोना बीमा मापदण्ड निर्देशिका २०७७ ले तोकेको सिमा भन्दा बढी भुक्तानी आकस्मिक बीमाकोषबाट मिलान गरि सञ्चित नाफा सार्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।
कोरोना बीमाको दावी भुक्तानी वापत भएको खर्चलाई वास्तविक खर्चको रुपमा स्वीकार गर्न कर विभागमा समेत सहजता गरिदिने बीमा प्राधिकरणबाट आश्वासन प्राप्त भएको हुँदा बीमकहरुलाई खासै असर नपर्ने भएकोले सबै बीमा कम्पनीहरुले कोरोना बीमा बापतको रकम भुक्तानी गर्न अध्यक्ष चंकी क्षेत्रीले परिपत्रमार्फत बताएका छन् ।














