कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरका लागि डिडिए सकियो, स्वाप रेसिया १००ः१००, जनवरी १ बाट एकीकृत कारोबार

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरको क्रममा डिडिए सम्पन्न भएको छ । दुई वित्तीय संस्थाको मर्जरमा जान १००ः१०० रेसियोको अन्तिम स्वाप रेसियो तयार भएको मर्जरमा संलग्न अधिकारीले जनाएका छन् ।
कुमारी बैंक र एनसीसी बैंकको सञ्चालक समितिको बैठकले अनुमोदन गरेअनुसार मंसिर १ गते बसेको सञ्चालक समितिका बैठकले प्रारम्भिक सम्झौता गर्दाकै स्वाप रेसीयो स्वीकृत गर्ने निर्णय गरेको जनाएको छ ।
दुवै बैंकले डिडिए सकिएर स्वाप रेसियो स्वीकृत गरेको जानकारी नेपाल धितोपत्र बोर्डलाई गराएका छन् । दुबै बैंकको साधारणसभा सम्पन्न भइसकेको छ भने चाँडै विशेष साधारणसभा बोलाएर अन्तिम सम्झौता पारित गरी एकीकृत कारोबार गर्ने तयारी भइरहेको बैंकहरूले जनाएका छन् । प्रारम्भिक छलफलमा दुवै बैंकले आगामी पुस १७ गते जनवरी १ तारिखका दिन एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् ।
सहमति अनुसार नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेश अर्याल छन् भने बैंकको नाम कुमारी बैंक हुनेछ । त्यस्तै, एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ ।
एनसीसी बैंक र कुमारी बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ ।
एनसीसी बैंकले माथिल्लो तहका कर्मचारीहरूलाई स्वच्छिक अवकार योजना(भीआरएस) बाट सहभागि हुन लगाएको छ । यसमा एनसीसी बैंकमा एजुकेटिभ देखि म्यानेजर लेभलका करिब १८ जना कर्मचारीले भीआरएस योजनामा सहभागि भएको बुझिएको छ ।













