नेपाल पुनर्बीमा कम्पनी, छिमेक लघुबित्त र नबिल बैंक सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित

७ मंसिर २०७९, बुधबार ११:१५

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको छ। निर्यात उद्योगतर्फ शिवशक्ति घ्यू परेको छ।

बीमा क्षेत्रबाट नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ भने लघुवित्ततर्फ छिमेक लघुबित्त र बैंकहरुमा नबिल बैँकले सबैभन्दा बढी कर तिरेको छ । ऊर्जामूलक उद्योगतर्फ चिलिमे जलविद्युत लिमिटेडले सबैभन्दा बढी कर तिरेर सम्मानित भएको छ । स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सबैभन्दा बढी कर तिरेको छ भने पर्यटनतर्फ मनकामना केबुल कारले सबैभन्दा धेरै कर तिरेको छ ।

व्यक्तिगत रुपमा सर्वाधिक आय कर तिर्नेमा जावलाखेल डिस्ट्रिलरीका विजयबहादुर साह भएका छन्। कृषि उद्योगतर्फ ओसिबी फुड्स एन्ड फुड सम्मानित भएको छ। वाणिज्य बैंकतर्फ नबिल बैंक सर्वाधिक कर तिर्नेको सूचीमा परेको छ।
सरकारले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर सर्वाधिक कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गर्दै आएको छ।यसपटक चुनावले गर्दा मंसिर ७ गते धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गरेको छ। राजस्व सचीव र अर्थ सचीवले बुधबार सर्वाधिक कर तिर्ने व्यक्तिलाई सम्मान गरेका छ।

गत वर्ष सर्वाधिक कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको थियो। निर्यात उद्योगतर्फ भारतीय लगानीको डाबर नेपाल, व्यक्तिगतततर्फ सर्वाधिक आय कर तिर्नेमा तारा म्यानेजम्यान्टका अध्यक्ष सिद्धार्थ राणा भएका थिए।
उनी हरेक वर्ष सबैभन्दा बढी आय कर तिरेर सम्मानित हुँदै आएका थिए। गत वर्ष राणा दोस्रोमा थिए भने जावलाखेल डिस्ट्रिलरीका विजयबहादुर साह सर्वाधिक आयकर बुझाउनेको सूचीमा परेका थिए।

आन्तरिक राजश्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन १ मंसिरलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ। २०५४ मंसिर १ गतेदेखि सरकारले भ्याट लागू गरेको हो।‘स्वेच्छिक सहभागितासहितको फराकिलो करधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ यस वर्षको नारा तय गरिएको थियो।

निर्वाचन आचारसंहिताका कारण विभागलले आज एक कार्यक्रमकाबीच सम्मान गरेको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*