शेयरबजारमा देखिएन रौनक, नेप्से ७ अंकले घट्दा कारोबार सन्तोषजनक

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से परिसूचक आज पनि ७.७२ अंकले घटेर १९२१ विन्दुमा कायम भएको छ ।
चुनावसँगै शेयरबजारमा रौनकता छाउन सक्ने आशामा बसेका लगानीकर्ताहरुमा निराशापन थपिएको छ । बैंकहरुको बढ्दो ब्याजदर नियन्त्रण हुन नसक्दा शेयरबजारको अवस्था खस्किँदै गइरहेको लगानीकर्ताशहरुको भनाई छ ।
आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको २८ लाख ९३ हजार ३७३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज शेयरबजार खुलेको प्रि–ओपनिङ सेसन र बजार खुलेको केही समयसम्म बजारमा झिनो अंकको सुधार देखिएपनि कारोबार बन्द हुँदासम्म मार्केट ७ अंकले घट्न पुगेको हो ।
नेप्सेले कारोबार रोक्का रहेका कम्पनीहरुको शेयर कारोबार फुकुवा गर्न थालेसँगै कारोबार बढ्न थालेको छ । मर्जरको प्रक्रियामा रहेका केही बैंकहरुको शेयर फुकुवा गरेसँगै हिजो र आज शेयरबजारमा अर्बमाथिको कारोबार भएको छ ।












