कालिञ्चोक दर्शनले मंसिर १४ देखि आइपीओ निष्काशन गर्दैछ, वैदेशिक रोजगारमा गएका नेपालीले कसरी आवेदन दिने ? (प्रक्रियासहित)

९ मंसिर २०७९, शुक्रबार १३:०५

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले यहि मंसिर १४ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जानेहरुका लागि आइपीओ जारी गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा १० प्रतिशत कोटा छुट्याएसँगै कालिञ्चोक दर्शन लिमिटेडले आइपीओमा आरक्षण छुट्याएको हो ।

यसैसँग सम्बन्धित वैदेशिक रोजगारीमा गएका नेपालीहरुले १० प्रतिशत आरक्षण रहेको आइपीओमा कसरी आवेदन दिने भन्ने जिज्ञासाको विषय बनेको छ । यसैसँग सम्बन्धित बीमापोष्टले वैदेशिक रोजगारीमा जाने नेपालीहरुले कसरी आइपीओ कोटा अन्तर्गत आवेदन दिने भन्ने विषयमा चर्चा गरेको छ ।

वैदेशिक रोजगार कोटाका लागि आवेदन दिने प्रक्रिया
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा जाने नेपालीहरुले सेबोनले छुट्याएको आइपीओ कोटामा आवेदन दिन आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत खाता भएको हुनुपर्नेछ ।

सो बचत खातामा पछिल्लो ६ महिनामा कम्तिमा ५० हजार रुपैयाँ बराबरको नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले जम्मा गरेको हुनुपर्नेछ । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सो खातामा पछिल्लो ६ महिनामा विदेशबाट ५० हजार नेपाली रुपैयाँ पठाए।नपठाएको चेक गरेर मात्रै आवेदन भेरिफाइड हुनेछ ।

साथै भेरिफाइड भएपश्चात् सम्बन्धित व्यक्तिले अन्य बेला आइपीओ आवेदन दिएजसरी नै मेरो शेयरबाटै आवेदन दिन सक्नेछन् । तर सीआरएन नम्बर भने रेमिट्यान्स बचत खातामा डिम्याट खातालाई लिंक गराइ लिनुपर्नेछ । यदि आवेदकले सीआरएन नम्बर बचत खातामा लिंक गराएमा मात्रै मेरो शेयरबाट आवेदन दिन मिल्नेछ अन्यथा अप्लाई गर्न मिल्नेछैन ।

वैदेशिक रोजगारका लागि विदेशीने नेपालीहरुसँग पहिले नै डिम्याट खाता भइसकेको खण्डमा सोही खातालाई रेमिट्यान्स बचत खातामा लिंक गराउन सकिनेछ । रेमिट्यान्स बचत खाता नहुनेले पनि आस्वा सुविधा भएका बैंकहरुलाई सम्पर्क गरी ५० हजार रुपैयाँ खातामा बचत गरी खाता खोल्न सक्नेछन् ।

रेमिट्यान्स बचत खाता नयाँ तत्कालै खोलेर आइपीओमा आवेदन दिन परेमा मात्रै ५० हजार रुपैयाँ बचत गर्नुपर्नेछ । अन्यथा पहिले नै त्यस्ता खाता भइसकेका ब्यक्तिले ५० हजार रुपैयाँ ६ महिनाभित्र रेमिट्यान्स गरिसकेको भएमा छुट्टै ५० हजार जम्मा गर्नुपर्ने छैन ।
धितोपत्र बोर्डका अनुसार नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीले मात्रै उक्त कोटा अन्तर्गत आइपीअ‍ोमा आवेदन दिन पाउनेछन् ।

कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ
कालिन्चोक दर्शन लिमिटेडले यहि मंसिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार २६० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४९९० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार ८०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले छिटोमा मंशिर २८ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद पुस १४ गतेसम्म लम्बिनेछ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*