एनसीसी बैंकका १३ जना वरिष्ठ कर्मचारीहरुले स्वैच्छिक अवकाश लिए, पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने योजना

काठमाडौं । कुमारी बैंकसँग मर्जरमा प्रकृयामा रहेको एनसीसी बैंकका १३ जना वरिष्ठ कर्मचारीहरुले स्वैच्छिक अवकाश लिएका छन्।मर्जर प्रक्रिया सुरु भएपछि बैंकले सहायक प्रबन्धकदेखि माथिका कर्मचारीका लागि स्वैच्छिक अवकाश योजना ल्याएको थियो। उक्त योजनाका सुविधा लिँदै १३ जनाले एनसीसी बैंक छाडेका हुन्। उनीहरुले करिब ९ करोड रुपैयाँ लगेका छन्।
एनसीसी बैंकका तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतहरु बन्दना पाठक, रेवन्तकुमार दाहाल र सन्दीपप्रसाद पाण्डेले स्वैच्छिक अवकाश लिएका छन्। नायब महाप्रबन्धक विनोदकुमार शर्माले पनि अवकाश रोजेका छन्।
उनीहरु २८ महिनाको तलब लिएर बिदा भएका छन्। यसबाहेक वरिष्ठ प्रबन्धक नगेन्द्रप्रसाद बिमली, व्यवस्थापक ९म्यानेजर० युरेशमान कायस्थ, विनयप्रसाद अधिकारी, सरिना पाण्डे र अमित श्रेष्ठले पनि अवकाश रोजेका छन्।
डेपुटी म्यानेजर मीनराजजंग शाह, अनिल पराजुली र प्रीतमकुमार दास श्रेष्ठले पनि अवकाश लिएका छन्। एसिस्टेन्ट म्यानेजर दुर्गाप्रसाद पाण्डेले पनि अवकाश रोजेका छन्। उनीहरुलाई कुल ४२ महिनाको तलब सुविधा दिइएको छ।
दुवै बैकले मंसिर २५ गते विशेष साधारणसभा डाकेका छन्। दुवैले अन्तिम स्वीकृति चाँडै पाएमा पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने योजना बनाएका छन्।












