राष्ट्र बैंकद्धारा ४३ करोड थान नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नोटहरु छाप्न भारतीय सरकारी कम्पनीलाई जिम्मा दिएको छ । केन्द्रीय बैंकले हजार रुपैयाँ दरका कुल ४३ करोड थान नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको हो ।
केन्द्रीय बैंकले ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गर्दै भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको जनाएको हो ।
सो अनुसार अब एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उक्त कम्पनीले एक करोड ११ लाख ३४ हजार ५०६ अमेरिकी डलर (बुधबारको विदेशी विनिमय दरअनुसार एक अर्ब ४५ करोड ८६ लाख २० हजार) बराबर कबोलेको थियो ।












