यस्तो छ सनराइज बैंकको १० वर्षे लाभांश इतिहास, यस वर्ष कति देला ?

काठमाडौं । हालसम्म आधाभन्दा बढी वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरिसकेका छन् । त्यसमध्ये पनि केही बैंकहरुले साधारण सभाबाट प्रस्तावित लाभांश पारित गरिसकेका छन् ।
हालसम्म लाभांश प्रस्ताव नगर्ने बैंकहरुमा सरकारी स्वामित्वको कृषि विकास, राष्ट्रिय वाणिज्य, नेपाल बैंक र नबिल बैंक, सनराइज बैंक, एनआइसी एशिया बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, प्राइम बैंक, सिभिल बैंक र लक्ष्मी बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।
सो मध्ये पनि सनराइज बैंकले पनि विगतमा आफ्ना शेयरधनीहरुलाई राम्रै लाभांश वितरण गर्दै आइरहेको छ । बैंकले आर्थिक वर्ष २०६८।६९ बाट शेयरधनीहरुलाई लाभांश बाँड्दै आइरहेको छ । बैंकले ३३.३३ प्रतिशतसम्म लाभांश बाँडेको छ । आव २०७२।७३ मा सनराइज बैंकले शेयरधनीहरुलाई ३३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । १० वर्षे लाभांश इतिहासमा सनराइज र्बैंकले आव २०७०।७१ मा शेयरधनीहरुलाई १००ः१५ अनुपातमा हकप्रद जारी गरेको थियो भने आर्थिक वर्ष २०७१।७२ मा पनि भने शेयरधनीहरुलाई १०ः३ अनुपातमा हकप्रद जारी गरेको थियो ।
बैंकले अब गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न बाँकी छ । बैंकले गत आवको अन्तिमसम्ममा २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा बैंकले वितरणयोग्य मुनाफा भनेर २५ करोड ६१ लाख १६ हजार रुपैयाँ छुट्याएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा एक अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा वितरणयोग्य नाफा ६० करोड १५ लाख ७४ हजार रुपैयाँ छु्ट्याएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा बैंकले वितरणयोग्य मुनाफा ५७.४३ प्रतिशत घटाएको छ । अघिल्लो आवमा एक ६०करोडमाथि वितरणयोग्य मुनाफा छुट्याउँदा बैंकले शेयरधनीहरुलाई ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई २.५३ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ र वितरण योग्य नाफा २५ करोड ६१ लाख १६ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकले सो लाभांश दिन सक्ने देखिएको हो । तर बैंकले सो प्रतिशत लाभांश नै बाँड्न सक्ने यकिन भने गर्न सकिन्न ।
बैंकले गत आवमा अन्य सूचांकमा बृद्धि गरी संचित मुनाफा बढाएर शेयरधनीहरुलाई राम्रै प्रतिफल पनि बाँड्न सक्दछ । जसमा बैंकको गत आवमा जगेडा कोषको आकार मात्रै २५.०८ प्रतिशतले बढेको थियो । त्यस्तै, खुद ब्याज आम्दानी २९.९७ प्रतिशतले बढेको थियो । बैंकले छुट्याएको वितरणयोग्य मुनाफाको आधारमा भने बैंकले शेयरधनीहरुलाई गत आवमा २.५३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।












