सानिमा बैंकको ५१ लाख कित्ता शेयर बिक्री, कसले बेच्यो एकैदिन ६७ करोडको शेयर ?

काठमाडौं । सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर खरिद बिक्री भएको छ । एनसेलका नेपाली लगानीकर्ता संस्थापक निरज गोविन्द श्रेष्ठले सानिमा बैंकको शेयर बिक्रि गरेका हुन् । उनले सानिमा बैंकको चार प्रतिशत भन्दा बढि शेयर बिक्री गरेका हुन् । श्रेष्ठले कूल छ करोड ३५ लाख कित्ता मध्ये एकै दिन ८.०२ प्रतिशत भन्दा बढि शेयर बिक्री गरिएको हो ।
उनले आफ्नो स्वामित्वमा रहेको कुल ५१ लाख कित्ता सेयर बुधबार बिक्री गरेका छन् । बैंकको कुल संस्थापक सेयरमध्ये उनले बिक्री गरेको सेयरको हिस्सा ४.०९ प्रतिशत हुन्छ । सानिमाको सेयर संरचना अनुसार कुल सेयर स्वामित्वको ५१ प्रतिशत हिस्सा संस्थापकहरुको छ । कुल ६ करोड ३५ लाख ४६ हजार ५८८ कित्ता संस्थापकहरुको हो ।
श्रेष्ठले सानिमाको कुल ६७ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर बिक्री गरेको नेप्सेको तथ्याङ्कमा देखिन्छ । कुल सेयर संरचना (साधारण र संस्थापक दुवै गरेर) को ४.०९ प्रतिशत हो । सो सेयर बेचे बापत उनले कुल तीन करोड ३५ लाख १४ हजार ६५० रुपैयाँ दीर्घकालीन पुँजीगत लाभकर तिरेका छन् ।
अधिकांश सेयर ४ नम्बर ब्रोकर ओपल सेक्युरिटिज मार्फत बिक्री भएको छ । खरिद पनि एउटै मात्र ब्रोकरबाट भएको देखिन्छ । ४९ नं ब्रोकर अनलाइन सेक्युरिटिजबाट सम्पूर्ण सेयर खरिद भएको छ । स्रोतका अनुसार उनले अन्य मर्जरका प्रकृयामा रहेको कम्पनीको शेयर लिन तयारी गरिरहेको छ ।
श्रेष्ठले २० प्रतिशत लाभांश लिएपछि शेयर बिक्री गरेका हुन् । बैंकले यस वर्ष सबैभन्दा धेरै २१ प्रतिशत नगद लाभांश सहित लाभांश दिएको थियो ।












