बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा ७२ करोड २७ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आजसम्ममा ६ लाख २१ हजार ३८ जनाले ७२ लाख २७ हजार ५९ कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४।०८ गुणा बढी आवेदन हो ।
कम्पनीले मंसिर २१ गतेदेखि ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता सेयरसमेत थप गरी उक्त सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । अर्थात, प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
यसमध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो सेयरमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा एनआइबीएल एस क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
रेटिङ इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । इक्र नेपालले २०७८ फागुन १३ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी २०७९ फागुन १२ गतेसम्म बाहल रहनेछ ।












