कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न, एनसीसी बैंकसँगको मर्जर प्रस्ताव पारित

काठमाडौं । कुमारी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा आइतबार सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप ज.व राणाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सो सभाले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर) गर्ने प्रस्ताव पारित गरेको छ । सभाले अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक प्रक्रिया पूरा गरी नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले मर्जर सम्बन्धी समझदारी पत्र (एओयु) संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न सञ्चालक समितिबाट गरिएको लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गरेको छ । दुवै बैंक एक आपसमा गाभिए पछि बन्ने संस्था कुमारी बैंक लिमिटेड रहनेछ।












