एशियन हाइड्रोपावरले आजदेखि आईपीओ जारी गर्ने, क-कसले दिन पाउनेछन् आवेदन ?

२७ मंसिर २०७९, मंगलवार ०५:२३

काठमाडौं । एशियन हाइड्रोपावरले मङ्सिर २७ गत (आज) देखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री गर्न लागेको छ ।
स्थानीयमा वितरण हुने कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र इलामा जिल्लाको इलाम नगरपालिका–१० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूण वडाहरू), माई जोगमाई गाउँपालिका वडा नम्बर ३,४ (साविक नाम्सालिङ गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरू तथा नयाँ बजार गाविसको वडा नम्बर ५), तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ (साविक माघेसुन्तले र तिनघरे गाविसका सम्पूर्ण वडाहरू तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३,४ र ५) का स्थानीय बासिन्दाहरूका लागि १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रमा बसोवास गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याइएको छ ।

यो शेयर स्थानीयमा बासिन्दामा छिटो अवधि पुस १२ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस २७ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणमा निष्कासन हुने ८ लाख ४० हजार कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गर्न लागेको हो । दुवै समूहका लगानीकर्ताले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*